सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर

एजेन्सी । पछिल्लो समय यता केही असहज परिस्थितिको सामना गरिरहेको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई फेरि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने डर ब्युँतिएको छ ।

ला लिगा अध्यक्ष जेभियर तेबासले युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएसँग सिटीलाई आवश्यक छानविन नगरी त्यसै छोड्न नहुने अडान राखेका छन् ।

स्मरण रहोस, युइएफएको आर्थिक फेयर प्ले नियम सिटीले तोडेको छ वा छैन भनेर आवश्यक छानविनलाई यसअघि नै अघि बढाईसकेको छ । साथै सिटीको खेलाडी स्थानान्तरणदेखि लिएर अन्य आर्थिक मामिलाको गतिविधीहरुलाई पनि यूइएफएले नजिकबाट नियालिरहेको छ ।

युरोपियन फुटबलमा अहिले तेबासलाई शक्तिशाली व्यक्तिहरुमध्ये एक मानिन्छ् । र, उनले सिटीसँगै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पनि आवश्यक छानबिन गर्नुपर्ने र प्रमाण भेटिए कडा कारवाही गर्नूपर्ने मनस्थितिमा छन् ।

पछिल्लो केही महिना यता आइरहेको खबरअनुसार यो मुद्दामा सिटीले सफाई पाउन सक्ने बताइएको थियो । यद्यपि तेबास भने युइएफएले आफ्नो आधिकारिक निर्णय सार्वजनिक नगर्दासम्म सिटीमाथिको छानबिनलाई त्यतिकै छोड्न नहुने अडानमा छन् ।

स्मरणीय छ, यूइएफएले फाइनेन्सियल फेयर प्ले नियम उल्लघंन गरेको आशंकामा सिटी र पिएसजीलाई अनुसन्धानको दायरामा ल्याएको थियो । यद्यपि यी दुवै क्लबले आफूहरुले सबै कुरा पारदर्शी रुपमा गरेको भन्दै आफुहरुमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

हाल आएर, यो मुद्दाबारे तेबासले फेरि कुरा उठाएपछि, त्यसले सिटीलाई मात्र नभएर पिएसजीलाई पनि थप तनाव दिने निश्चित छ । यदि यो आरोपमा सम्बन्धित क्लब दोषी पाइए, युइएफएले कारवाही गर्नुका साथै प्रतियोगिताबाट सहभागिता जनाउनबाट समेत प्रतिबन्ध लगाउन सक्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...