सिटीको कठिन जितमा एग्वेरो निर्णायक (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगतर्फ मंगलबार राती नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले कठिन जित हात पारेको छ । ब्रमल लेनमा भएको खेलमा सिटीले जुझारु घरेलु टोली शेफिल्ड युनाइटेडमाथि १–० को कठिन जित निकाल्यो ।

घरेलु मैदानमा शेफिल्डले सिटी विरुद्ध महत्वपूर्ण अंक हासिल गर्ने संघारमा समेत पुगेको थियो । तर, दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार एग्वेरो निर्णायक बने ।

७३औं मिनटमा एग्वेरोले केविन डि ब्रुईनको क्रस पासमा सटिक ट्याप गोल गरे । जुन निर्णायक पनि बन्यो । एग्वेरोको यो पछिल्ला तीन खेलहरुमा छैंटौ गोल समेत थियो ।

यो जितपछि २४ खेलबाट ५१ अंक जोडेको सिटी दोस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा १३ अंकले पछाडी छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ । उता पराजित शेफिल्ड भने ३३ अंकका साथ सातों स्थानमा छ ।

प्रिमियर लिगमा मंगलबार नै भएका अन्य नतिजाहरुः

त्यस्तै मंगलबार नै भएका प्रिमियर लिगका अन्य खेलहरुमा इभर्टनले न्युक्यासल युनाइटेडसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २–० ले हरायो भने एस्टन भिल्लाले वाटफोर्डमाथि २–१ को जित निकाल्यो । त्यसैगरी ब्राईटनमाथि बर्नमाउथले ३–१ को प्रभावशाली जित दर्ता गर्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...