‘लण्डन डर्बी’को नाटकीय बराबरी (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा मिडविक भिडन्तका रुपमा भएको मंगलबार रातीको खेलमा दुई शहरी प्रतिद्वन्द्वी चेल्सी र आर्सनलले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलको शुरुवातमै दश खेलाडीमा सिमित भएर पनि आर्सनलले घरेलु टोलीलाई नाटकीय रुपमा रोक्न सफल भयो । २६औं मिनटमा डेविड लुईजले रातो कार्ड खाँदै मैदान छाडेपछि आर्सनल पहिलो हाफबाटै दश खेलाडीमा सिमित रहेर खेल्न बाध्य बन्यो ।

त्यसको दुई मिनट लगतै जर्जिन्होले पेनाल्टीबाट चेल्सीका लागि पहिलो गोल गरे । ब्लुजले त्यो अग्रता पहिलो हाफसम्म कायम पनि राख्यो । तर, दोस्रो हाफको ६३औं मिनटमा ग्याब्रियल मार्टिनेलीले आर्सनलका लागि बराबरी गोल फर्काए ।

यद्यपि खेलको ८४औं मिनटमा सिजर एज्पिलीक्वेटाले घरेलु टोलीका लागि दोस्रो गोल गरे । तर, चेल्सीले त्यो अग्रता पनि जोगाउन सकेन । दोस्रो गोल खाएको पाँच मिनट बित्न नपाउँदै आर्सनलले नाटकीय रुपमा गोल फर्काएको थियो । खेलको ८७औं मिनटमा हेक्टर बेलारिनले गनर्सका लागि दोस्रो बराबरी गोल फर्काए र खेललाई रोमाञ्चक बराबरीमा ल्याए ।

यो नतिजापछि २४ खेलबाट ४० अंक जोडेको चेल्सी चौथो स्थानमा यथावत छ । उता आर्सनल भने ३० अंकका साथ दशौं स्थानमा छ । र, रेलिगेशन क्षेत्रको टोली बर्नमाउथ भन्दा ७ अंकले मात्र अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...