साविक विजेता उज्वेकिस्तानको फराकिलो जितसँगै सेमिफाइनल समिकरण पूरा

एजेन्सी । थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपको समूह चरणमा सुस्त प्रदर्शन गर्दै क्वाटरफाइनलसम्म पुगेको साविक विजेता उज्वेकिस्तानले क्वाटरफाइनल भिडन्तमा भने शानदार जित हात पारेको छ ।

बैंककमा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा उज्वेकिस्तानले बलियो आँकिएको युएईलाई ५–१ को फराकिलो अन्तरले हरायो । यसअघि तेस्रो क्वाटरफाइनलमा दक्षिण कोरियाले पनि जोर्डनको चुनौति २–१ ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

आइतबारको खेलको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । साथै सेमिफाइनल खेलहरु बुधबारदेखि शुरु हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार उज्वेकिस्तानले साउदी अरबको सामना गर्नेछ । साउदीले क्वाटरफाइनलमा आयोजक थाइल्याण्डलाई १–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सोही दिन दुई दावेदार दक्षिण कोरिया र अष्ट्रेलिया भिड्ने छन् । स्मरण रहोस, अष्ट्रेलियाले क्वाटरफाइनलमा सिरियालाई १–० ले निराश तुल्याउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...