आठ गोलको ‘थ्रीलर’, १९ वर्षे युवाको ‘डेब्यु’ खेलमै ह्याट्रिक

एजेन्सी । यस सिजन युरोपियन फुटबल मार्केटमा हट केक बनेका नर्वेजियन युवा स्टार इर्लिङ हालन्डले बुण्डेसलिगामा आफ्नो डेब्यु खेल नै शानदार र यादगार बनाएका छन् ।

अष्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट यसै सिजन बोरुसिया डर्टमुण्डमा आवद्ध भएका १९ बर्षे हालण्डले शनिबार आफ्नो डेब्यु खेलमै ह्याट्रिक गरेर सनसनी मच्याएका छन् ।

दोस्रो हाफतर्फ ५६औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका हालण्डले २३ मिनटको अन्तरालमा तीन गोल गर्दै ह्याट्रिक जमाए । सो खेलमा डर्टमुण्डले एफसी अक्सबर्गलाई ५–३ ले हरायो ।

हालण्ड मैदान प्रवेश गर्नु अघि डर्टमुण्ड खेलमा ३–१ ले पछि थियो । यद्यपि यी युवा स्टारले ५९, ७० र ७९औं मिनटमा गोल गर्दै टोलीलाई आफ्नो उपस्थिति सहि साबित गरेर देखाइदिए ।

यो जितसँग १८ खेलबाट ३३ अंक जोडेको डर्टमुण्ड लिगतालिकाको चौथो स्थानमा छ र शिर्ष स्थानमा रहेको ५ अंकले पछाडी छ । उता पराजित अग्सबर्ग भने २३ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...