उपाधि होडमा सिटीलाई धक्का (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगको उपाधि जोगाउने अभियानमा रहेको साविक विजेता म्यानचेष्टर सिटीलाई शनिबार धक्का लागेको छ । घरमै भएको खेलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएपछि सिटीको उपाधि होडमा धक्का लागेको हो ।

खेलको अन्तिम दश मिनटमा नाटकीय तीन गोलहरु हुँदा सिटी बराबरीमा रोकिन बाध्य भयो । ऐतिहाद स्टेडियममा सेन्क टोसुनको गोलबाट प्यालेसले खेलमा अप्रत्याशित अग्रता बनाएको थियो । जुन अग्रतालाई खेलको अन्तिमसम्म जोगाउन सकेन ।

उता खेलको अन्तिम दश मिनट भने नाटकीय रह्यो । खेलको ८२ र ८७औं मिनटमा सर्जियो एग्वेरोले लगातार दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । घरेलु समर्थकहरु पनि सिटीको जितमो जश्न मनाउने तयारीमा थिए । तर, घरेलु टोली अन्तिम समयमा स्तब्ध बन्यो ।

फर्नान्डिन्होले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुग्दा सिटी जित नजिक पुगेर पनि अंक बाँड्न बाध्य भयो । यो नतिजासँगै २३ खेलबाट ४८ अंक जोडेको सिटी दोस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा १३ अंकले पछि छ । यद्यपि लिभरपुलले २ खेल कम खेलेको छ ।

उता क्रिस्टल प्यालेस भने ३० अंकका साथ नवौं स्थानमा छ ।

शनिबार नै भएका अन्य खेलहरुमा आर्सनलले पनि शेफिल्ड युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । त्यस्तै एस्टन भिल्ला र ब्राईटन तथा वेस्ट ह्याम र यभर्टनले पनि समान १–१ गोलको बराबरी खेले ।

वोल्भरह्याम्पटनले साउथह्याम्पटनलाई ३–२ ले हराउँदै नर्विचले बर्नमाउथलाई १–० ले निराश तुल्यायो ।


प्रतिक्रिया दिनुहोस

Loading...