स्टार खेलाडीहरुको गोलसँगै पिएसजीलाई ८ अंकको अग्रता

एजेन्सी । स्टार खेलाडीहरुले गोल गरेको खेलमा लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको लिगतालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ ।

बुधबार राती स्टेड लुइसमा भएको खेलमा पिएसजीले घरेलु टोली मोनाकोमाथि ४–१ को प्रभावशाली जित निकाल्यो । पिएसजीका लागि काइलन एम्बाप्पेले दुई गोल गरे ।

खेलको २४औं मिनटमा एम्बाप्पेले पहिलो गोलको खाता खोलेका थिए । पहिलो हाफ कै इन्जुरी समयमा नेमारले त्यो अग्रता दोब्बर पारे । पिएसजीले पहिलो हाफसम्म २–० को अग्रता कायम राख्यो । त्यसपछि सबै गोल दोस्रो हाफमा सम्भव भए ।

पाब्लो सराबियाले ७२औं मिनटमा पिएसजीका लागि तेस्रो गोल गरे । यद्यपि उता ८७औं मिनटमा टिमु बाकायोकोले मोनाको लागि गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे, तर सफल भएनन् ।

उता अन्तिमतिर इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै घरेलु टोलीलाई निराश तुल्याएका थिए ।

यो जितपछि २० खेलबाट ४९ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानमा रहेको मार्सेली भन्दा ८ अंकले अगाडी छ । उता पराजित मोनाको भने २९ अंकका साथ नवौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...