डिफेन्डिङ च्याम्पियनलाई हराउँदैै दक्षिण कोरिया समूह विजेता, इरान अभागी

एजेन्सी । एएफसी यु–२३ च्याम्पियनसिपतर्फ क्वाटरफाइनलमा यसअघि नै स्थान बनाइसकेको दक्षिण कोरियाले समुह चरणको अन्तिम खेलमा साविक विजेता उज्वेकिस्तानलाई हराउँदै समूह विजेता बनेको छ ।

समूह सी मा रहेको दक्षिण कोरियाले आफ्नो अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई २–१ ले हरायो । दक्षिण कोरियाका लागि दुवै गोल ओह सी–हुनको नाममा रह्यो ।

ओहले खेल शुरु भएको पाचौं मिनटमै पहिलो गोल गरेका थिए । तर, उज्वेकिस्तानका लागि २१औं मिनटमा बबिरले बराबरी गोल फर्काउन सफल भएका थिए । यद्यपि दक्षिण कोरियाका लागि ७१औं मिनटमा ओहले दोस्रो तथा निर्णायक गोल गरे ।

हारका बावजुद ४ अंक जोडेको उज्वेकिस्तान राम्रो गोल भिन्नताका आधारमा समूह उपविजेताको हैसियतले क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । समूह सी कै अर्को खेलमा इरानले चीनलाई १–० ले हरायो र समग्रमा ३ खेलबाट ४ अंक जोडेको इरान भने दुर्भाग्यपुर्ण रुपमा चीनसँगै समूह चरणबाट बाहिरियो ।

कुल ९ अंक जोडेको दक्षिण कोरिया शिर्ष स्थानमा रहँदा अंकविहीन चीन भने पुछारमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...