एएफसी यु २३ः पूर्व च्याम्पियन जापान ‘आउट’

एजेन्सी । सन् २०१६ को विजेता समेत रहेको एसियन पावर हाउस जापान जारी एएफसी यु–२३ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह बी मा रहेको जापानले आफ्नो दोस्रो खेलमा सिरियासँग २–१ ले पराजित भएपछि ब्लु सामुराइको चुनौति समूह चरणबाटै समाप्त भएको हो । स्मरण रहोस, जापानले आफ्नो पहिलो खेलमा पनि साउदी अरबसँग समान २–१ को हार बेहोरेको थियो ।

त्यस्तै सोही समूहमा रहेका कतार र साउदी अरबले अर्को खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडे । दोस्रो खेलहरुको नतिजा पश्चात चार अंक जोडेको सिरिया गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ ।

समान ४ अंक भएता पनि साउदी अबर दोस्रो स्थानमा छ । दुई अंक जोडेको कतार तेस्रो स्थानमा छ भने अंकविहीन जापान पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अब अन्तिम खेलमा जापानले प्रतिष्ठाको भिडन्तका रुपमा बुधबार कतारसँग खेल्नेछ । कतारका लागि त्यो खेल भने निकै महत्वपूर्ण हुनेछ । त्यस्तै सोही दिन साउदी अरब र सिरिया पनि एक आपसमा महत्वपूर्ण खेल खेल्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...