प्रिमियर लिगमा नवआगन्तुक टोलीको ‘छलाङ’

एजेन्सी । गत सिजन मात्र बढुवा भएर आएको नव आगन्तुक टोली शेफिल्ड युनाइटेड सनसनीपुर्ण रुपमा इङलिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

शुक्रबार राती घरेलु मैदान ब्रेमल लेनमा भएको एक मात्र खेलमा शेफिल्डले वेस्ट ह्याममाथि १–० को रोमाञ्चक जित निकाल्दै लिगतालिकामा छलाङ मार्न सफल भएको हो ।

शेफिल्डको जितमा ओलिभर म्याकबर्नी निर्णायक रहे । उनले दोस्रो हाफको ५३औं मिनटमा एक मात्र निर्णायक गोल गरे । यद्यपि त्यो गोल वेस्ट ह्याम कै वैकल्पिक गोलरक्षक डेविड मार्टिनको गल्तीमा भएको थियो ।

त्यस्तै खेलको अन्तिमतिर रोबर्ट स्नोग्रासले वेस्ट ह्यामका लागि बराबरी गोल गरेको निश्चित भईसक्दा उता भिडियो एसिस्टेन्ट रेफ्री त्यो गोलमा बाधक भईदियो । भारले त्यो बल डिक्लेन राइसको हातमा लागेको ठहर गर्दै सो बराबरी गोललाई अस्वीकृत गरिदिएको थियो ।

यो जितसँगै शेफिल्डले २२ खेलबाट ३२ अंकका साथ म्यानचेष्टर युनाइटेड, टोटेनह्याम जस्ता दिग्गज टोलीलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । छैठौं स्थानमा झरेको म्यानचेष्टर युनाइटेडको ३१ र सातौं स्थानमा रहेको टोटेनह्यामको ३० अंक छ । उता पराजित वेस्ट ह्याम भने २२ अंकका साथ रेलिगेशन क्षेत्र भन्दा दुई स्थान माथि १६औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...