बार्सिलोनालाई स्तब्ध पार्दै एटलेटिको फाइनलमा

एजेन्सी । रोमाञ्चक जित निकाल्दै एटलेटिको मेड्रिड सनसनीपुर्ण जितका साथ प्रतिष्ठित स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा एटलेटिकोले डिफेन्डिङ च्याम्पियन तथा १३ पल्टको विजेता बार्सिलोनालाई ३–२ ले हरायो । साउदी अरबको जेद्दाह शहर स्थित किंग अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा बार्साले दुर्भाग्यपुर्ण रुपमा हारको सामना गर्यो ।

४६औं मिनटमा कोकेले क्लिनिकल फिनिसि गर्दै एटलेटिकोलाई खेलमा अग्रता बनाएका थिए । यद्यपि ५१औं मिनटमा लियोनल मेसीले बराबरी गोल गरे । लगतै ६२औं मिनटमा एन्टोइन ग्रीजम्यानले बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।

यद्यपि ८१औं मिनटमा अल्वारो मोराटाले पेनाल्टीबाट दोस्रो बराबरी गोल फर्काउँदा ८६औं मिनटमा एन्जल कोरेले निर्णायक गोल गर्दै एटलेटिकोलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

खेलमा मेसीले दुई गोलको अवसर पाएका थिए । यद्यपि उनको एक गोल भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले ह्याण्डबलको जनाउ दिंदै गोलको मान्यता दिनबाट अस्वीकार गर्यो ।

यो जितसँगै एटलेटिकोले अब फाइनलमा शहरी प्रतिद्वन्द्वी रियल मेड्रिडसँग सोही मैदानमा १२ जनवरी आइतबारका दिन फाइनल खेल्नेछ । साथै, फाइनल खेल मेड्रिड डर्बी हुने पनि निश्चित भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...