इकार्डीको ह्याट्रिक र गोल वर्षासँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी । आठ पल्टको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फराकिलो जितका साथ प्रतिष्ठित फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान पर्सी डेस प्रिन्सेसमा भएको चौथो क्वाटरफाइनलमा पिएसजीले दश खेलाडीमा सिमित सेन्ट इटिनीलाई ६–१ को फराकिलो अन्तरले हरायो ।

पिएसजीको जितमा यस सिजन शानदार लयमा देखिएका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले ह्याट्रिक गरे । खेल शुरु भएको दोस्रो मिनटमै इकार्डीले गोलको खाता खोलेका थिए ।

उता खेलको ३१औं मिनटमा वेस्ली फोफनाले रातो कार्ड खाएपछि सेन्ट इटिनी पहिलो हाफबाटै दश खेलाडीमा सिमित हुन पुग्यो । जसको फाईदा पिएसजीले भरपुर उठायो ।

३९औं मिनटमा नेमारले पिएसजीका लागि दोस्रो गोल गरे । लगतै ४४औं मिनटमा जेसी मुलिनले आत्मघाती गोल गर्न पुग्दा पिएसजीले पहिलो हाफ मै अग्रता तेब्बर बनायो ।

दोस्रो हाफमा थप आक्रमक बनेको पिएसजीका लागि इकार्डीले ४९ र ५७औं मिनटमा लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६७औं मिनटमा घरेलु टोलीका लागि काइलन एम्बाप्पेले छैठौं गोल गरे ।

उता पराजित सेन्ट इटिनीका लागि ७१औं मिनटमा योहान काबाएले एक मात्र सान्त्वना गोल फर्काए । तर, त्यतिबेलासम्म टोलीलाई हारबाट जोगाउन अबेर भईसकेको थियो ।

फ्रेन्च लिग कपको सेमिफाइनलमा पिएसजीसँगै लियोन, लिले र रिम्स पुगेका छन् । सेमिफाइनल ड्र को मिति भने तय भईसकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...