उत्कृष्ट जितका साथ रियल मेड्रिड फाइनलमा

एजेन्सी । जर्मन स्टार टोनी क्रुसले कर्नरबाटै उत्कृष्ट गोल गरेको खेलमा स्पेनिस जायन्ट रियल मेड्रिडले स्पेनिस सुपर कपतर्फ पहिलो सेमिफाइनलमा शानदार जित हात पारेको छ ।

साउदी अरको जेद्दाहमा सम्पन्न खेलमा रियलले भ्यालेन्सियालाई ३–१ ले हरायो । क्रुसले १५औं मिनटमा गरेको कर्नर प्रहार भ्यालेन्सियाका गोलरक्षकले पन्च गर्दा आफ्नै पोष्टमा बल छिरेको थियो ।

इस्कोले ३९औं मिनटमा रियलका लागि दोस्रो गोल गरे । त्यस्तै ६५औं मिनटमा क्रोएशियन स्टार लुका मोड्रिकले त्यो अग्रता तेब्बर पारे । उता भ्यालेन्सियाका लागि इन्जुरी समयमा डेनियल परेजोले पेनाल्टीबाट एक गोल फर्काए ।

बक्स भित्र कप्तान सर्जियो रेमोसले ह्याण्डबल गरेपछि त्यसलाई भार (भिडियो एसिस्टेन्ट रेफ्री) को सहयोगमा प्रमाणित गरेर भ्यालेन्सियालाई पेनाल्टीको अवसर दिइएको थियो । यद्यपि त्यो सान्त्वना गोलले पनि टोलीको हार भने टरेन ।

रियलले अब फाइनलमा बिहीबार हुने बार्सिलोना र एटलेटिको मेड्रिडबीचको विजेतासँग साउदी अरबमै उपाधिका लागि भिड्नेछ । फाइनल खेल १२ जनवरीका दिन हुनेछ ।

स्मरण रहोस, यसवर्षदेखि सुपर कपमा नयाँ नियम लागु गरिएको थियो । जसअन्तरगत स्पेनिस ला लिगाका शिर्ष दुई टोली र कोपा डेल रेका दुई फाइनलिस्टले मात्र प्रतियोगितामा सहभागिता जनाउने प्रावधान थियो ।

रियलले ला लिगामा गत सिजन तेस्रो स्थान हासिल गरेर पनि सुपर कपमा खेल्ने अवसर पायो । जसको एक मात्र कारण थियो, गत बर्ष बार्सिलोनाले ला लिगा उपाधि जित्नुका साथै कोपा डेल रेको उपविजेता समेत बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...