६३ बर्षपछि केपटाउनमा इङल्याण्डको जित

एजेन्सी । दक्षिण अफ्रिकी भ्रमणमा रहेको इङल्याण्डले केपटाउनमा भएको दोस्रो टेष्टमा घरेलु टोलीलाई १८९ रनले हराउँदै सिरिजमाथि १–१ बराबरी गर्दै पूनरागमन जनायो ।

दोस्रो पारीमा दक्षिण अफ्रिकी टोली २४८ रनमा अलआउट हुन पुगेको थियो । केपटाउनमा इङल्याण्डले टस जित्दै पहिले ब्याटिङ रोजेर पहिलो पारीमा २६९ रन र दोस्रो पारीमा ३९१ रन बनाएको थियो । उता दक्षिण अफ्रिकाले भने पहिलो पारीमा २२३ रन बनाएर अलआउट भएको थियो ।

दोस्रो टेष्टमा अलराउण्ड प्रदर्शन गरेका बेन स्टोक्स म्यान अफ द म्याच घोषित भए । उनले केपटाउनमा ११९ रन बनाउनुका साथै तीन विकेट समेत आफ्नो नाममा गराएका थिए । दोस्रो टेष्टमा दक्षिण अफ्रिकाले ४३८ रनको लक्ष्य पछ्याएको थियो । जसलाई घरेलु टोलीले पूरा गर्न सकेन ।

केपटाउनमा इङल्याण्डको ६ दशकपछिको ऐतिहासिक जित थियो । अर्थात केपटाउनमा इङलिस टोलीले ६३ बर्षपछि जित हात पारेको थियो । स्मरण रहोस, यसअघि इङल्याण्डले सन् १९५७ मा ३१२ रनको जित हात पारेको थियो ।

चार टेष्टको सिरिज अन्तरगत तेस्रो टेष्ट १६ जनवरीदेखि पोर्ट एलिजावेथमा शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...