प्रभावशाली जितका साथ शिर्ष स्थानमा उक्लियो रियल

एजेन्सी । यस सिजन सुधारिएको प्रदर्शन गरिरहेको स्पेनिस जायन्ट रियल मेड्रिड ला लिगातर्फ शनिबार प्रभावशाली जितका साथ लिगतालिकाको फेरि शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेयुमा गेटाफेको चुनौति ३–० ले पन्छाउँदै रियल फेरि शिर्ष स्थानमा उक्लिएको हो । ३४औं मिनटमा गेटाफेका डेविड सोरियाको आत्मघाती गोलबाट अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

५३औं मिनटमा राफेल भरानेले रियलको अग्रता दोब्बर पारे भने खेलको अन्तिमतिर इन्जुरी समयमा क्रोएशियन स्टार लुका मोड्रिकले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

यो जितसँगै १९ खेलबाट ४० अंक जोडेको रियल शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ३९ अंकका साथ साविक विजेता बार्सिलोना दोस्रो स्थानमा झरेको छ । यद्यपि बार्साले एक खेल कम खेलेको छ ।

साथै बार्सिलोनाले शनिबार अबेर राती नै शहरी प्रतिद्वन्द्वी इस्पान्योलको सामना गर्दैछ । यो खेलमा बार्साले जित हात पारे क्याटलन जायन्ट फेरि शिर्ष स्थानमा उक्लिन सफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...