स्टार खेलाडीले भरिएको भिसेल कोबेलाई ऐतिहासिक उपाधि

एजेन्सी । आन्द्रेस इनिष्टा, डेभिड भिल्ला र लुकास पोडोलोस्की जस्ता स्टार खेलाडीहरुले भरिएको जे लिग क्लब भिसेल कोबेले जापानकै पुरानो र प्रतिष्ठित मध्ये एक एम्परर्स कपको उपाधि जितेको छ ।

बुधबार सम्पन्न फाइनल भिडन्तमा कोबेले पाँच पटकको विजेता काशिमा एन्टलर्सलाई २–० ले हरायो । भर्खरै निर्माण गरिएको टोक्यो स्थित नेशनल स्टेडियममा भएको खेलको १८औं मिनटमा तोमोया इनुकाइको आत्मघाती गोलबाट कोबेले खेलमा अग्रता बनाएको थियो ।

स्पेनिस लिजेण्ड इनिष्टाको कप्तानीमा उत्रिएको कोबेका लागि दोस्रो गोल ३८औं मिनटमा नारिआकी फुजिमोटोले गरे । जुन गोल र नतिजा खेलको निर्णायक नतिजा बन्यो ।

यो उपाधिसँगै कोबे क्लब इतिहास मै पहिलोपटक एएफसी च्याम्पियन्स लिगका लागि समेत छनौट भएको छ । साथै, यसै सिजनको समाप्तीसँग व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका अर्का स्पेनिस स्टार डेभिड भिल्लाको विदाई समेत सुखद बनेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...