अर्जेन्टिनी स्टार मेसीले जिते किर्तिमानी छैठौंपटक बेलन डि’अर अवार्ड

एजेन्सी । फ्रान्स फुटबलले बार्षिक रुपमा प्रदान गर्दै आएको प्रतिष्ठित बेलन डि’अर अवार्ड बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले किर्तिमानी छैठौंपटक जितेका छन् ।

गत सिजन क्लब र देशका लागि गरेर कुल ५४ गोल गरेका ३२ बर्षिय मेसीले यो अवार्ड अन्तिमपटक सन् २०१५ मा जितेका थिए । स्मरण रहोस, उनकै प्रेरणादायी प्रदर्शनले बार्साले गत सिजन ला लिगाको उपाधि समेत जितेको थियो ।

यो अवार्डको पुरुष विधामा मेसीपछि लिभरपुलका डच डिफेन्डर भर्जिन भान डाइक दोस्रो स्थानमा रहे । भान डाइकले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन अहम भूमिका खेलेका थिए ।

फ्रान्सको राजधानी पेरिसमा भएको अवार्ड कार्यक्रममा भोटिङका आधारमा विजेता चयन गरिएको यो अवार्डको तेस्रो स्थानमा युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो रहे ।

त्यस्तै यसैबर्षदेखि दिन लागिएको याशिन ट्रफी लिभरपुल कै गोलरक्षक एलिसन बेकरले हात पारे । उत्कृष्ट गोलरक्षकलाई दिइने यो अवार्डका लागि एलिसनले बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन र म्यानचेष्टर सिटीका अर्का ब्राजिलियन गोलरक्षक इडर्सनलाई पछि पारे ।

त्यस्तै उत्कृष्ट यु–२१ खेलाडीलाई दिइने कोपा ट्रफी युभेन्ट्सका डच डिफेन्डर म्याथिस डि लिटले जिते । २० बर्षिय डि लिटले गत सिजन युभेन्ट्समा आवद्ध हुनु अघि एजाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका थिए ।

महिलातर्फ अमेरिकाकै मेगन उत्कृष्ट

त्यसैगरी महिलातर्फको बेलन डिअर अवार्ड यस बर्ष अमेरिकाकी चर्चित मिडफिल्डर मेगन रेपिनोले जितेकी छिन् । अमेरिकालाई यसै बर्ष आफ्नै कप्तानीमा फिफा विश्वकपको उपाधि जिताएकी ३४ बर्षिय रेपिनो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता समेत बनेकी थिईन् ।

यो अवार्डको सूचीमा इङल्याण्डकी लुसी ब्रोन्ज दोस्रो स्थानमा रहिन् । महिलातर्फ युइएफए बर्ष खेलाडी चुनिएकी ब्रोन्जले इङल्याण्ड फिफा महिला विश्वकपतर्फ सेमिफाइनलसम्म पुर्याउन महत्वपुर्ण भूमिका खेलेकी थिईन् । त्यस्तै उता, यो अवार्डको तेस्रो स्थानमा अमेरिकाकै एलेक्स मोर्गन रहिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...