आर्सनलको जितविहीन यात्रा जारी (भिडियोसहित)

एजेन्सी । खराब नतिजा निकालेकै कारण केही दिन अघि मात्र उनाइ एमरीलाई बर्खास्त गरेको आर्सनलले आफ्नो जितविहीन यात्रालाई निरन्तरता दिएको छ । प्रिमियर लिगतर्फ आर्सनलले आइतबार रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको नवआगन्तुक टोली नर्विच सिटीसँग २–२ को बराबरीमा रोकिएको हो ।

एमरीको बर्खास्तीपछि आर्सनल कै पूर्व मिडफिल्डर फेडरिक लिजुंगबर्गको अन्तरिम व्यवस्थापनमा उत्रिएको आर्सनलले नर्विच विरुद्ध पहिलो हाफ मै दुई गोल खान पुगेको थियो ।

नर्विचको घरेलु मैदानमा भएको खेलको २१औं मिनटमा टिमु पुक्कीले घरेलु टोलीका लागि पहिलो गोल गरे । तर २९औं मिनटमा आर्सनलका गाबोन स्टार पिएरे एमरिक औबमेयाङले बराबरी गोल फर्काएका थिए ।

यद्यपि पहिलो हाफकै इन्जुरी समयमा टोड कान्टवेलले नर्विचका लागि दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा दोस्रोपटक अग्रता दिलाए । तर ५७औं मिनटमा औबमेयङले नै दोस्रो गोल गर्दै आर्सनलको सम्भावित हार टारेका थिए ।

यो नतिजापछि १४ खेलबाट १९ अंक जोडेको आर्सनल लिगतालिकाको आठौं स्थानमा छ । उता नर्विच भने ११ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...