गल्फ कप ग्रुप बी : ओमानसँग हार्यो कुवेत, साउदीको जित

एजेन्सी । कतारमा जारी प्रतिष्ठित २४औं गल्फ कप फुटबल प्रतियोगितातर्फ समूह बी बाट नकआउट चरणमा पुग्ने अवसर सबै खुला भएको छ । शनिबार राती ओमानसँग कुवेत र साउदीसँग बहराईन पराजित भएपछि नकआउट चरणको होड खुला भएको हो ।

समूह बी तर्फ शनिबार भएको पहिलो खेलमा ओमानले कुवेतमाथि २–१ को जित निकाल्यो । दोहा स्थित अब्दुल्ला बिन खलिफा स्टेडियममा ओमानका लागि दुवै गोल पेनाल्टीबाट सम्भव भयो ।

ओमानका लागि दुवै गोल अब्दुल अजिजले १६ र ३२औं मिनटमा पेनाल्टबिाट गरे । उता कुवेतका लागि ७९औं मिनटमा युसेफ नासेरले गरेका थिए ।

त्यस्तै अर्को खेलमा साउदी अरबले बहराईन माथि २–० को जित निकाल्यो । यसअघि समूह चरणको पहिलो खेलमा आफ्नो साउदीले कुवेतसँग ३–१ को हार बेहोरेको थियो भने बहराईनले ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।

शनिबारको नतिजापछि ४ अंक जोडेको ओमान शिर्ष स्थानमा छ । ३–३ अंक जोडेका कुवेत र साउदी क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने १ अंक जोडेको बहराईन पुछारमा छ ।

समूह चरणको अन्तिम खेलतर्फ कुवेतले सोमबार बहराईनको सामना गर्नेछ भने सोही दिन ओमान र साउदी अरब पनि आमने सामने हुनेछन् । सोमबारको खेलको नतिजा पश्चात् नै समूह बी बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...