टोटेनह्यामका लागि मौरिन्होको जितको ‘ह्याट्रिक’

एजेन्सी । गत साता मात्र क्लबको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका जोसे मौरिन्होले टोटेनह्यामलाई तीन खेलमा तीन जित दिलाएका छन् । शनिबार प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ३–२ ले हराएपछि टोटेनह्यामले शिर्ष चारमा आफ्नो सम्भावनालाई पनि बलियो बनाएको छ ।

स्मरणीय छ, टोटेनह्यामले मौरिन्होकै नेतृत्वमा गत साता वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले हराएको थियो भने च्याम्पियन्स लिगतर्फ मंगलबार मात्र ओलम्पियाकोसमाथि ४–२ को जित निकालेको थियो । समग्रमा लण्डन क्लबका लागि मौरिन्होको यो लगातार तेस्रो जित समेत थियो ।

शनिबार टोटेनह्यामको जितमा डेले अली चम्किए । अलीले खेलको २१ र ५०औं मिनटमा गरी दुई गोल गरे । थप एक गोल भने ६९औं मिनटमा मुसा सिसोकोले गरे । त्यस्तै उता बर्नमाउथका लागि दुवै गोल हाल लिभरपुलबाट आएर लोनमा खेलिरहेका ह्यारी विल्सनले ७३ र ९०+६औं मिनटमा गरे ।

यो जितपछि १४ खेलबाट २० अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा छ । उता पराजित बर्नमाउथ भने १६ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...