ला लिगाको शिर्ष स्थानमा उक्लियो रियल (भिडियोसहित)

एजेन्सी । वेल्स स्टार गारेथ बेलले अक्टुबरपछि पहिलोपटक पहिलो रोजाईमा रहेर मैदानमा उत्रिएको खेलमा जित निकाल्दै रियल मेड्रिड स्पेनिस ला लिगाको अंकतालिकामा फेरि शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा अलावेसलाई २–१ ले हराएको रियलले साविक विजेता बार्सिलोनालाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । १४ खेलबाट ३१ अंक जोडेको रियल शिर्ष स्थानमा छ भने २८ अंक जोडेको बार्सिलोना दोस्रो दोस्रो स्थानमा छ । बार्साले एक खेल कम खेलेको छ ।

उता शनिबार अलावेसको घरेलु मैदानमा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । दोस्रो हाफको ५२औं मिनटमा कप्तान सर्जियो रेमोसले रियलका लागि हेडद्वारा पहिलो गोल गरेका थिए ।

यद्यपि ६५औं मिनटमा अलावेसले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लुकास पेरेजले बिना कुनै गल्ती गोलमा परिणत गरेर खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर, घरेलु टोलीले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । बराबरी गोल खाएको पाँच मिनट बित्न नपाउँदै ६९औं मिनटमा डानी कार्वाजलले रियलका लागि दोस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

यो नतिजापछि रियलले कम्तिमा पनि २४ घण्टाका लागि लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राख्नेछ । ला लिगातर्फ यदि बार्सिलोनाले आइतबार एटलेटिको मेड्रिडलाई हराउन सके, बार्सा फेरि शिर्ष स्थानमा उक्लिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...