डिफेन्डिङ च्याम्पियन सिटीलाई धक्का

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी प्रिमियर लिगतर्फ शनिबार न्युक्यासल युनाइटेडसँग उसकै घरमा बराबरीमा रोकिएको छ । यो बराबरी नतिजासँगै सिटीले लिगलिडर लिभरपुलसँगको दुरी छोट्याउने अवसर पनि गुमाएको छ ।

दुईपल्टको अग्रता जोगाउन नसकेको सिटीले सेन्ट जेम्स पार्कमा न्युक्यासलसँग २–२ को बराबरीमा रोकियो । २२औं मिनटमै रहिम स्टर्लिङको गोलबाट अग्रता बनाएको सिटीले त्यसलाई पाँच मिनट पनि जोगाउन सकेन ।

उता २५औं मिनटमा जेट्रो विलेम्सले न्युक्यासलका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो हाफको अन्तिमतिर ८२औं मिनटमा केभिन डि ब्रुईनले सिटीलाई खेलमा दोस्रोपटक अग्रता दिलाए ।

तर सिटीको त्यो अग्रता पनि खेर जान पुग्यो । उता न्युक्यासलका लागि ८८औं मिनटमा जोन्जो सेल्भीले दोस्रो बराबरी गोल गर्दै न्युक्यासलको हार टारेका थिए ।

यो बराबरी नतिजासँगै १४ खेलबाट २९ अंक जोडेको सिटी दोस्रो स्थानमा छ र लिगलिडर लिभरपुलभन्दा ८ अंकले पछाडी छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ । उता न्युक्यासल भने १६ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...