लिभरपुललाई झट्का, ब्राजिलियन मिडफिल्डर आगामी बर्षसम्म मैदान बाहिर

एजेन्सी । युरोपियन च्याम्पियन लिभरपुलका ब्राजिलियन मिडफिल्डर फाबिन्हो आगामी बर्षसम्म मैदान बाहिर रहने भएका छन् । च्याम्पियन्स लिगतर्फ बुधबार नापोली विरुद्ध भिड्ने क्रममा फाबिन्हो एंकल इन्जुरीका कारण खेलको १९औं मिनटमै मैदान छाड्न बाध्य भएका थिए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको सो खेल १–१ को बराबरीमा टुंगिएको थियो । लिभरपुलका अनुसार २६ बर्षिय फाबिन्होको एंकल लिगामेन्टमा चोट लागेपछि उनी सन् २०२० को नयाँ बर्षसम्म मैदान रहने पुष्टी गरेको छ ।

उता लिभरपुलका म्यानेजर यर्गन क्लपले फाबिन्हो जस्तो मुख्य खेलाडी चोटिल बन्दा टोलीलाई निकै घाटा पुग्ने बताए । फाबिन्होले प्रिमियर लिगमा यस सिजन १३ मध्ये १२ खेलमा आफ्नो सहभागिता जनाएका थिए । साथै च्याम्पियन्स् लिगतर्फ उनले पाँचै खेलमा लिभरपुलको पहिलो रोजाईमा उत्रिएका थिए ।

हाल ३७ अंकका साथ प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानमा रहेको लेस्टर सिटीभन्दा आठ अंकको स्पष्ट अग्रता बनाएको छ । साथै प्रिमियर लिगतर्फ शनिबार रेड्सले ब्राइटनलाई घरमै आतिथ्यता गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...