आर्सनलद्वारा म्यानेजर एमरी बर्खास्त

एजेन्सी । लगातारको खराब प्रदर्शनपछि आर्सनलले आफ्नो मुख्य प्रशिक्षक उनाइ एमरीलाई शुक्रबार बर्खास्त गरेको छ । ४८ बर्षिय एमरीले अर्सनलको जिम्मेवारी सम्हालेको १८ महिना मै बर्खास्तीमा परेका हुन् ।

यसअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई फ्रेन्च लिग वान तथा सेभियालाई तीनपटक युरोपा लिगको उपाधि जिताएका एमरी गत बर्षको मईमा आर्सेन वेंगरको उत्तराधिकारीका रुपमा उत्तरी लण्डन क्लबको म्यानेजर पदमा नियुक्त भएका थिए ।

एमरीको बर्खास्तीसँगै तत्कालका लागि आर्सनलको जिम्मेवारी क्लबकै पूर्व मिडफिल्डर तथा सहायक प्रशिक्षक फ्रेड्डी लिजुंगबर्गले सम्हाल्ने छन् । उता आर्सनलले क्लबको क्षमता अनुसार उपलब्धी हासिल हुन नसकेकोले सो निर्णय लिइएको बताएको छ ।

स्मरण रहोस, आर्सनलले पछिल्ला सात खेलमा जितको स्वाद चाख्न पाएको छैन । साथै, बिहीबार राती मात्र युरोपा लिगको समुह चरणतर्फ आर्सनलले फ्रान्कफर्टसँग २–१ को हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...