७००औं खेलमा मेसीको गोल, बार्सिलोना नकआउट चरणमा

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोनाका लागि ७००औं खेलमा गोल गरेपछि सहज जितका साथ क्याटलन जायन्ट च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राती क्याम्प नोउमा भएको समूह एफतर्फको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डलाई ३–१ ले हरायो । बार्सिलोनाका लागि गोलको खाता २९औं मिनटमा लुइस सुआरेजले खोले । त्यो गोलका लागि मेसीले नै पास मिलाइदिएका थिए ।

लगतै ३३औं मिनटमा मेसीले त्यो अग्रता दोब्बर पारे । च्याम्पियन्स लिगमा मेसीको त्यो ११४औं गोल थियो । त्यस्तै ६७औं मिनटमा एन्टोइन ग्रीजम्यानले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

खेलमा एकपक्षीय नतिजा निकालेको बार्सिलोना विरुद्ध ७७औं मिनटमा जडोन सान्चोले डर्टमुण्डका लागि एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन । यो नतिजापछि ५ खेलबाट ११ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ र नकआउट चरणमा पुगेको छ ।

त्यस्तै सोही समूहमा बुधबार स्लाभिया प्रागलाई ३–१ ले हराएको इन्टर मिलान ७ अंकका साथ दोस्रो स्थानमा छ । डर्टमुण्डको पनि ७ अंकका छ तर गोलभिन्नताका आधारमा पछि पर्दै तेस्रो स्थानमा छ । उता २ अंक जोडेको प्राग भने पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...