बराबरी खेल्दा लिभरपुलको नकआउट चरणको यात्रा लम्बियो

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिगतर्फ बुधबार राती भएको खेलमा बराबरी खेलेपछि रेडसलाई नकआउट चरणमा पुग्न अन्तिम खेलसम्म पर्खनु पर्ने भएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले नापोलीसँग १–१ को बराबरी खेल्यो । खेलमा नापोलीका ड्राइस मार्टेन्सले २१औं मिनटमा गोल गर्दै पाहुना टोलीलाई सनसनीपूर्ण रुपमा अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म लिभरपुलले गोलका लागि निकै संघर्ष गर्नुपर्यो तर सफल भएन । यद्यपि दोस्रो हाफको ६५औं मिनटमा डेजन लोवरेनले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए भने घरेलु टोलीको सम्भावित हार पनि टारेका थिए ।

यो नतिजापछि ५ खेलबाट १० अंक जोडेको लिभरपुल शिर्ष स्थानमै छ । तर, नकआउट चरणमा पुग्नका लागि रेडसले आउँदो डिसेम्बर १० तारीखका दिन रेडबुल साल्जबर्गसँग कम्तिमा पनि १ अंक बटुल्नु पर्नेछ । लिभरपुलले बुधबार राती नापोली विरुद्ध जित हात पारेको भए एक खेल अगावै समूह विजेताका रुपमा नकआउट चरणमा पुग्ने सम्भावना थियो ।

त्यस्तै नापोली ९ अंकका साथ दोस्रो स्थानमा रहँदा ७ अंक जोडेको साल्जबर्ग तेस्रो स्थानमा छ । साल्जबर्गले बुधबार राती नै बेल्जियन क्लब जेन्कलाई ४–१ ले हरायो र आफ्नो नकआउट चरणको सम्भावना कायम राख्यो । उता १ अंक जोडेको जेन्क पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...