फेलिक्स बने युरोपका ‘गोल्डेन ब्वाय’

एजेन्सी । एटलेटिको मेड्रिडका उदयीमान स्ट्राइकर जोआओ फेलिक्सले यस बर्षको गोल्डेन ब्वाय अवार्ड जित्न सफल भएका छन् । युरोपको उत्कृष्ट यु–२१ फुटबल खेलाडीलाई वार्षिक रुपमा दिइने यो अवार्ड २० बर्षिय यी पोर्चुगिज स्टारले आफ्नो नाममा पारेका छन् ।

गत सिजन च्याम्पियन्स लिगमा बेनफिकाबाट खेल्दै क्लबका लागि समग्रमा १८ गोल गरेर सनसनी मच्याएर सबैको नजरमा परेका फेलिक्सलाई अनुबन्ध गर्न ठूला क्लबहरुलाइृ तछाडमछाड गरेका थिए । यद्यपि उनले ती ठूला क्लबहरुको आकर्षक प्रस्तावलाई लत्याउँदै एटलेटिकोलाई रोजेका थिए ।

एटलेटिकोले पनि फेलिक्सलाई अनुबन्ध गर्न ११३ मिलियन पाउण्डको चर्को मुल्य तिरेको थियो । यस सिजन एटलेटिकोका लागि ला लिगामा १० खेल खेल्दै फेलिक्सले २ गोल समेत गरिसकेका छन् ।

https://twitter.com/BBCSport/status/1199678006094180357

स्मरण रहोस, यो अवार्ड जित्ने फेलिक्स दोस्रो पोर्चुगिज खेलाडी हुन् । यसअघि सन् २०१६ मा यो अवार्ड रेनाटो सान्चेजले जितेका थिए । गत बर्ष यो अवार्ड भने डच डिफेन्डर म्याथिस डि लिटले जितेका थिए ।

त्यस्तै फेलिक्सले यो अवार्ड जित्ने क्रममा इङल्याण्डका १९ बर्षिय स्टार जडोन सान्चो र जर्मनीका २० काइ हेभर्जलाई पछि पारे । सान्चो दोस्रो स्थानमा रहे भने हेभर्ज तेस्रो स्थानमा रहे ।

सन् २००३ मा इटालियन अखबार टुटोस्पोर्टले यो अवार्डको स्थापना गरेको थियो । यो अवार्ड पाउने खेलाडीको उमेर २१ बर्ष मुनिको हुनुपर्छ भने खेलाडीले युरोपको विभिन्न देशहरुको शिर्ष लिग खेलेको हुनुपर्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस

Loading...