रोकियो सिटी, तर पनि अन्तिम १६ मा प्रवेश

एजेन्सी । इङलिस च्याम्पियन म्यानचेष्टर सिटी च्याम्पियन्स लिगतर्फ मंगलबार राती बराबरीमा रोकिनाका बावजुद नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

समूह सी मा रहेको सिटीले मंगलबार राती घरेलु मैदान सिटी अफ म्यानचेष्टर स्टेडियममा शख्तर डोनेस्कसँग १–१ को बराबरीमा रोकियो । यद्यपि बराबरीका बावजुद ५ खेलबाट ११ अंक जोडेको सिटी ५ अंकको स्पष्ट अग्रता बनाउँदै नकआउट चरणमा पुग्न सफल भयो । साथै, समूह विजेता बन्ने पनि लगभग पक्का गर्यो ।

मंगलबार राती सिटीले ५६औं मिनटमा इल्काय गुन्डोगनको गोलबाट खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर ६९औं मिनटमा मनोर सोलोमनले शख्तरका लागि बराबरी गोल फर्काएका थिए ।

यो बराबरी नतिजापछि ६ अंकका साथ दोस्रो स्थानमा रहेको शख्तरको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । उता मंगलबार नै डायनामो जग्रेबलाई २–० ले हराएको इटालियन क्लब एटलान्टा ४ अंकका साथ पुछारमा छ भने पराजित जग्रेब तेस्रो स्थानमा छ ।

समूह सी बाट सिटी बाहेक अन्य तीन टोलीको नकआउट चरण पुग्ने सम्भावना खुला छ । त्यसका लागि यी तीन टोलीको भाग्य डिसेम्बर ११ तारीखका दिन हुने समूह चरणको अन्तिम खेलले टुंगो लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...