उत्कृष्ट पूनरागमन गर्दै टोटेनह्याम नकआउट चरणमा (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होको आगमनसँगै लय समातेको टोटेनह्याम हटसपरले च्याम्पियन्स लिगमा मंगलबार राती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट जित हात पारेको छ ।

लण्डन स्थित घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनह्यामले ग्रीक क्लब ओलम्पियाकोसलाई ४–२ ले हरायो । खेल शुरु भएको छैठौं मिनटमै युसेफ एल–अरबीले गोल गर्दै पाहुना टोलीलाई खेलमा अप्रत्याशित अग्रता दिलाएका थिए । लगतै १९औं मिनटमा रुबेन सेमेडोले दोस्रो गोल गर्दै ओलम्पियाकोसलाई खेलमा २–० को सनसनीपूर्ण अग्रता दिलाए ।

तर खेलमा उत्कृष्ट पूनरागमन गरेको टोटेनह्यामका लागि पहिलो हाफको इन्जुरी समयमा डेले अलीले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ५० र ७७औं मिनटमा हेरी केनले लगातार दुई गोल गर्दै घरेलु टोलीको अग्रता ३–२ मा पुराए । तेस्रो गोल गरेर पनि रोकिएन टोटेनह्याम । त्यस लगतै ७३औं मिनटमा सर्जे औरिरले चौथो गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।

यो जितपछि समूह बी मा एक खेल खेल्न बाँकी रहँदा ५ खेलबाट १० अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ र नकआउट चरणका लागि छनौट भएको छ । मंगलबार राती नै समूह ए तर्फको खेलमा रेड स्टार बेलग्रेडलाई ६–० को फराकिलो अन्तरले हराएको जर्मन जायन्ट म्युनिख १५ अंकका साथ शिर्ष स्थानमा छ र समूह विजेता बन्ने पनि निश्चित भएको छ ।

त्यस्तै ३ र १ अंक जोडेको रेड स्टार बेलग्रेड र ओलम्पियाकोस क्रमश तेस्रो र चौथो स्थानमा छन् । र, यी दुवै टोलीको युरोपा लिग खेल्ने सम्भावना भने कायम छ । जुन समूह चरणको अन्तिम खेलबाट टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...