दुई गोलकोको अग्रताले पनि जित्न सकेन रियल (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगतर्फ समूह ए मा रहेका दुई महाराथी रियल मेड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसज)ि बीचको खेल बराबरीमा टुंगिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेयुमा सम्पन्न खेलमा रियलले दुई गोलको स्पष्ट अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

रियलका लागि १७ र ७९औं मिनटमा करिम बेन्जेमाले दुई गोल गरे । तर खेलमा उत्कृष्ट पूनरागमन गरेको पिएसजीले खेलको अन्तिमतिर नाटकीय रुपमा पाँच मिनटभित्र दुई गोल फर्काउन सफल भएको थियो ।

पहिलो गोल ८१औं मिनटमा फ्रेन्च स्टार काइलन एम्बाप्पेले गरे । लगतै ८३औं मिनटमा पाव्लो सराबियाले पिएसजीका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

उता रियलले खेल जित्ने अवसर नजिक पनि पुगेको थियो । इडन हजार्डको स्थानमा मैदान प्रवेश गरेका गारेथ बेलको फ्रिकिक प्रहार पोष्टमा लाग्नु दुर्भाग्यपुर्ण बन्यो । मंगलबार रातीको यो नतिजापछि समूह ए बाट पिएसजी र रियल नकआउट चरणमा पुग्ने निश्चित भएको छ ।

५ खेलबाट १३ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ र उसको समूह विजेता बन्ने पनि पक्कापक्की छ । त्यस्तै ८ अंक जोडेको रियल दोस्रो स्थानमा छ । मंगलबार नै समूह ए तर्फ १–१ को बराबरी खेलेको क्लब ब्रुगे र गलातासारे क्रमश ३ र २ अंकका साथ तेस्रो र चौथो स्थानमा छ र यी दुईको युरोपा लिग खेल्ने सम्भावना कायम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...