बार्सामाथि रियलको दबाब जारी (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले साविक विजेता बार्सिलोनामाथि दबाब र आफ्नो चुनौति कायम राखेको छ । घरेलु मैदान सान्टियागो बर्नबेयुमा भएको खेलमा रियलले रियल सोसिडाडलाई ३–१ ले हराउँदै लिगतालिकामा बार्सासँगै संयुक्त रुपमा शिर्ष स्थानमा आफ्नो पकड कायम राख्यो ।

खेलको दोस्रो मिनटमै सोसिडाडका विलियन जोसेले गोल गरेपछि रियल अप्रत्याशित रुपमा खेलमा पछि परेको थियो । तर उत्कृष्ट पूनरागमन गरेको रियलका लागि ३७औं मिनटमा करिम बेन्जेमाले बराबरी गोल फर्काए ।

रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ४८औं मिनटमा फेडरिको भाल्भेर्डेले रियलका लागि दोस्रो गोल गरे भने ७४औं मिनटमा क्रोएशियन स्टार लुका मोड्रिकले तेस्रो गोल गर्दै घरेलु टोलीको प्रभावशाली जित पक्का गरे ।

तर सबैको निशानामा भने वेल्स स्टार गारेथ बेल परेका थिए । ६७औं मिनटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका बेललाई घरेलु समर्थकहरुले चर्को नाराबाजी गरेका थिए ।

स्मरणीय छ, इन्टरनेशनल ड्युटीका क्रममा बेलले ‘वेल्स, गल्फ, मेड्रिड’ क्रमिक रुपमा लेखेको ब्यानर बोकेर वेल्सका अन्य साथीहरुसँग जितको खुशी मनाएका थिए । जुन कुरालाई स्पेनमा उनको निकै आलोचना भएको थियो ।

यो जितसँगै १३ खेलबाट २८ अंक जोडेको रियल समान अंक जोडेको होल्डर बार्सिलोनासँग्ै शिर्ष स्थानमा छ । यद्यपि रियलको अर्को परीक्षा भने मंगलबार हुँदैछ । जहाँ जिदानको टोलीले च्याम्पियन्स लिगतर्फ घरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) को आतिथ्यता गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...