रेलिगेशन क्षेत्रमा भौंतारिएको लेगानेसमाथि बार्साको संघर्षपुर्ण जित (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगामा यस सिजन रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको लेगानेसमाथि साविक विजेता बार्सिलोनाले संघर्षपुर्ण जित हात पारेको छ ।

लेगानेसको घरेलु मैदानमा शनिबार सम्पन्न खेलमा बार्सिलोनाले २–१ को जित निकाल्यो । यद्यपि खेलमा अग्रता भने लेगानेसले बनाएको थियो । खेल शुरु भएको १२औं मिनटमै युसेफ एन–नेसरीको उत्कृष्ट कर्ली गोलबाट लेगानेसले अग्रता बनायो ।

पहिलो हाफसम्म त्यो अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफमा भने बार्सिलोनाले खेलमा पूनरागमन गर्यो । खेलको ५६औं मिनटमा लुइस सुआरेजले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरी ल्याए । त्यस्तै ७९औं मिनटमा आर्टुरो भिडालले दोस्रो गोल गर्दै होल्डर्सको जित पक्का गरे ।

यो जितपछि १३ खेलबाट २८ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको चिरप्रतिद्वन्द्वी रियल मेड्रिड भन्दा ३ अंकले अगाडी छ । यद्यपि रियलले एक खेल कम खेलेको छ र शनिबार राती रियल सोसिडाडको सामना गर्दैछ । उता पराजित लेगानेस भने ६ अंकका साथ २०औं स्थानमा रहँदै लिगतालिकाको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...