टोटेनह्यामका नयाँ प्रशिक्षक मौरिन्हो

एजेन्सी । इङलिस क्लब टोटेनह्याम हट्सपरले चर्चित पोर्चुगिज म्यानेजर जोसे मौरिन्होलाई क्लबको नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । स्मरण रहोस, मंगलबार मात्र क्लबले पूर्व म्यानेजर मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको थियो । त्यसको २४ घण्टा नबित्दै क्लबले नयाँ तथा चर्चित अनुहारलाई म्यानेजरको जिम्मेवारी दिएको हो ।

५६ बर्षिय मौरन्हिोले सन् २०२२–२३ सम्म क्लबको जिम्मेवारी सम्हाल्ने गरी सम्झौता गरेका छन् । स्मरणीय छ, गत बर्षको डिसेम्बरमा म्यानचेष्टर युनाइटेडबाट बर्खास्तीमा परेपछि मौरिन्हो क्लबविहीन थिए ।

मौरिन्होलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेपछि टोटेनह्यामका अध्यक्ष डेनियल लेवीले फुटबलमा सबैभन्दा सफल प्रशिक्षकलाई आफ्नो क्लबमा नियुक्त गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

मौरिन्होले यसअघि चीन, स्पेन र पोर्चुगलबाट आएका विभिन्न क्लबहरुको प्रस्ताव अस्वीकार गरेका थिए । बीबीसीका अनुसार मौरिन्हो अझै पनि लण्डन मै बस्ने गर्छन् ।

यसअघि अर्को लण्डन क्लब चेल्सीको जिम्मेवारी समेत सम्हालेका मौरिन्होले ब्लुजका लागि ३ प्रिमियर लिग र एक एफए कपको उपाधि समेत जिताएका थिए । साथै म्यानचेष्टर युनाइटेडमा रहँदा उनले रेड डेविल्सलाई युरोपा लिग र काराबाओ कपको उपाधि पनि जिताएका थिए ।

उता प्रिमियर लिगमा यस सिजन खराब लयमा देखिएको टोटेनह्याम अंकतालिकाको १४औ. स्थानमा छ । स्पर्समा आएलगतै मौरिन्होको पहिलो प्राथमिकता क्लबलाई फेरि लिगतालिकामा नयाँ उचाई दिनु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...