छोरीको निधनपछि फेरि स्पेनको प्रशिक्षकीय जिम्मेवारीमा फर्किए एनरिक

एजेन्सी । बोन क्यान्सरका कारण गत अगस्तमा छोरीको निधन भएपछि विक्षिप्त बनेका लुइस एनरिकले फेरि स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षकीय पदभार सम्हालेका छन् ।

४९ बर्षिय एनरिकले बार्सिलोनाको जिम्मेवारी छाडेपछि स्पेनीस टोली सम्हालेका थिए । तर गत जुनमा उनले व्यक्तिगत कारण देखाउँदै स्पेनीस टोलीको प्रशिक्षकीय जिम्मेवारीबाट पनि राजिनामा दिएका थिए ।

त्यसपछि स्पेनीस टोलीको जिम्मेवारी एनरिक कै सहायक रोबर्ट मोरेनोले सम्हालेका थिए । स्मरण रहोस, युरो छनौटतर्फ अपराजित रहँदै युरोमा आफ्नो स्थान पक्का गरेको स्पेनले सोमबार रोमानियालाई ५–० ले हराउँदा मोरेनो नै प्रशिक्षक थिए ।

रोचक कुरा त मोरेनोले एनरिककै सहायक भएर रोमा, सेल्टा विगो र बार्सिलोनामा सँगै काम गरेका थिए । साथै उनले एनरिकले भविष्यमा स्पेनको जिम्मेवारी सम्हाल्न इच्छुक देखिए, आफूले त्यो पदभार त्याग्न तयार रहेको घोषणा समेत गरेका थिए ।

गत बर्ष रुसमा सम्पन्न फिफा विश्वकपतर्फ स्पेन नकआउट चरणबाटै बाहिरिएपछि एनरिकलाई स्पेनको नयाँ प्रशिक्षकमा नियुक्त गरिएको थियो । यद्यपि उनको नेतृत्वमा स्पेनले युइएफए नेशन्स लिगको सेमिफाइनल यात्रा तय गर्न असफल भएको थियो ।

त्यसैक्रममा उनले व्यक्तिगत कारण देखाउँदै स्पेनको प्रशिक्षकीय जिम्मेवारीबाट राजिनामा दिएका थिए । बीबीसीका अनुसार अब एनरिकले आगामी सन् २०२२ को कतार विश्वकपसम्म स्पेनको नेतृत्व सम्हाल्ने लगभग निश्चित भईसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...