मेसीले जोगाए अर्जेन्टिनाको हार (भिडियोसहित)

एजेन्सी । खेलको अन्तिमतिर इन्जुरी समयमा स्टार फरवार्ड लियोनल मेसीले गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा अर्जेन्टिना सम्भावित हारबाट जोगिएको छ ।

इजरायलको तेल अविवमा भएको खेलमा अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग २–२ गोलको बराबरी खेले । खेलको ३४औं मिनटमै एडिन्सन काभानीको गोलबाट उरुग्वेले खेलमा अग्रता बनाएको थियो । उरुग्वेले त्यो अग्रतालाई पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफतर्फ ६३औं मिनटमा सर्जियो एग्वेरोले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । तर अर्जेन्टिनी टोलीले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । बराबरी गोल खाएको पाँच मिनट बित्न नपाउँदै ६८औं मिनटमा लुइस सुआरेजले उरुग्वेलाई दोस्रोपटक खेलमा अग्रता दिलाए ।

उरुग्वे खेलमा जित नजिक पुगेकै बेला अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेसीले इन्जुरी समयको ९२औं मिनटमा गोलमा परिणत गर्दै अर्जेन्टिनालाई इजरायलमा हारबाट जोगाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...