फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील च्याम्पियन

एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि आयोजक ब्राजीलले नै जितेको छ । ब्राजीलले समग्रमा चौथोपटक यो उपाधिमाथि कब्जा जमाएको हो ।

ब्राजीलको गामा शहरमा भएको फाइनल भिडन्तमा घरेलु टोलीले शुरुवाती गोल खाएर पनि मेक्सिकोलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

https://twitter.com/FIFAcom/status/1196216361065832449

खेलको ६६औं मिनटमा ब्रायन गोन्जालेजको गोलबाट मेक्सिकोले घरेलु टोलीमाथि सनसनीपूर्ण अग्रता बनाएको थियो । तर नाटकीय रुपमा खेलमा फर्किएको ब्राजीलका लागि ८४औं मिनटमा जर्ज रेमोसले पेनाल्टीबाट बराबरी गोल फर्काए ।

लगतै इन्जुरी समयको ९३औं मिनटमा लजारो मार्केसले ब्राजीलका लागि दोस्रो गोल गर्दै आयोजकलाई घरमै उपाधि जिताउन अहम भूमिका खेले । ब्राजील कै ग्याब्रियल भेरोन सर्वोत्कृष्ट खेलाडी चुनिए भने इक्वेडरले फेयर प्ले पुरस्कार हात पार्यो ।

फ्रान्स बन्यो तेस्रो

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले नेदरल्याण्डसलाई ३–१ ले हरायो । स्मरण रहोस, सेमिफाइनलमा फ्रान्सले ब्राजीलसँग ३–२ को हार बेहोरेको थियो । उता नेदरल्याण्डसले भने मेक्सिकोसँग पेनाल्टी शुटआउटमा ४–३ ले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...