अन्ततः समूह विजेता बन्यो फ्रान्स

एजेन्सी । आगामी बर्ष हुने युरोका लागि यसअघि नै आफ्नो स्थान पक्का गरेको विश्व च्याम्पियन फ्रान्सले युरो छनौटतर्फ समूह चरणको अन्तिम खेलमा पनि सहज जित निकालेको छ ।

समूह एचमा रहेको फ्रान्सले आइतबार राती समूह चरणको अन्तिम खेलमा अल्बानियालाई उसकै घरमा २–० ले हरायो । घरेलु टोली विरुद्ध पहिलो हाफ मै गरेको दुई गोल फ्रान्सको जितका लागि प्रर्याप्त बन्यो ।

खेल शुरु भएको नवौं मिनटमै कोरेन्टिन टोलिसोले पहिलो गोल गरे । त्यस्तै ३०औं मिनटमा स्टार फरवार्ड एन्टोइन ग्रीजम्यानले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

आइतबारको नतिजापछि १० खेलबाट २५ अंक जोडेको फ्रान्स समूह ए को शिर्ष स्थानमा रह्यो । त्यस्तै आइतबार नै एन्डोरालाई २–० ले हराएको टर्की २३ अंकका साथ दोस्रो स्थानमा रह्यो र युरोका लागि सोझै छनौट हुन सफल भयो ।

त्यसैगरी सोही समूहको अर्को खेलमा मोल्डोभालाई २–१ ले हराएको आइसल्याण्डले १९ अंक जोड्यो र प्ले अफका लागि आफ्नो स्थान पक्का गर्यो । त्यस्तै क्रमशः १३, ४ र ३ अंक जोडेका अल्बायिन, एन्डोरा र मोल्डोभा भने समूह चरणबाटै बाहिरिए ।


प्रतिक्रिया दिनुहोस

Loading...