युभेन्टसको साँघुरो जित, लगातार दोस्रोपटक ‘एक्स्ट्रा’ बने रोनाल्डो (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन तथा लिडलिडर युभेन्टसले इटालियन सिरि ए तर्फ कठिन तथा साँघुरो जित निकाल्दै लिगतालिकामा फेरि शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा सम्पन्न खेलमा युभेन्टसले एसी मिलानलाई १–० ले हरायो । युभेन्टसको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको पाउलो डायबलाले ७७औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

खेलमा युभेन्टसको जित भन्दा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई वैकल्पिक खेलाडीका रुपमा मैदान बाहिर निकाल्ने कुराले बढी चर्चा पायो । दोस्रो हाफको ५५औं मिनटमा प्रशिक्षक मौरिजियो सारीले रोनाल्डोको स्थानमा डायबलालाई मैदानमा पठाएका थिए । जुन निर्णय सही पनि साबित भयो ।

त्योबेला रोनाल्डो मैदान बाहिर निस्किएपछि प्लेयर बक्समा नगएर सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए । स्मरण रहोस, च्याम्पियन्स लिगतर्फ गत बुधबार लोकोमोटिव मस्को विरुद्ध युभेन्टसले २–१ को जित हात पार्दा सो खेलमा पनि रोनाल्डोलाई विस्थापित गर्दै डायबला मैदानमा प्रवेश गरेका थिए ।

यो जितपछि अपराजित रहेको युभेन्टस १२ खेलबाट ३२ अंक जोड्दै इन्टर मिलानलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । एक अंक कम रहेको इन्टर दोस्रो स्थानमा छ । त्यस्तै उता पराजित एसी मिलान भने १३ अंकका साथ १४औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...