किंग पावरमा आर्सनल विरुद्ध लेस्टरको ‘पावर’ (भिडियोसहित)

एजेन्सी । सन् २०१५–१६ प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी प्रभावशाली जितका साथ लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार अबेर राती घरेलु मैदान किंग पावर स्टेडियममा सम्पन्न खेलमा लेस्टरले आर्सनललाई २–० ले स्तब्ध तुल्यायो ।

पहिलो हाफमा अधिकांश केही राम्रा अवसरहरुलाई खेर फालेको लेस्टरले दोस्रो हाफमा भने गोलको खाता खोल्न सफल भएको थियो । लेस्टरका लागि ६८औं मिनटमा जेमी भार्डीले पहिलो गोल गरे । भार्डीको यस सिजन यो ११औं गोल समेत थियो । त्यस्तै जेम्स मेडिसनले ७५औं मिनटमा त्यो अग्रता दोब्बर पार्दै घरेलु टोलीको जित पक्का गरे ।

यो जितपछि १२ खेलबाट २६ अंक जोडेको लेस्टरले गोल भिन्नतामा समान अंक रहेको चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । साथै, शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले मात्र पछाडी छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ र आज घरेलु मैदान एनफिल्डमा साविक विजेता म्यानचेष्टर सिटीको सामना गर्दैछ ।

उता यस सिजन निरन्तर खराब लयमा देखिएको आर्सनल भने १७ अंकका साथ छैठौं स्थानमा झरेको छ । यो हारसँगै आर्सनलका म्यानेजर उनाई एमरीमाथि थप दबाब सिर्जना समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...