अग्रता नजोगाउँदा घरमै रोकियो टोटेनह्याम

एजेन्सी । यस सिजन घरेलु लिगमा एकनासको प्रदर्शन गर्न नसकिरहेको टोटेनह्याम हट्सपरले शनिबार प्रिमियर लिगतर्फ नवआगन्तुक टोली शेफिल्ड युनाइटेडसँग १–१ को बराबरी खेल्न बाध्य भएको छ ।

टोटेनह्याम हटसपर स्टेडियममा गोलको अग्रता बनाएर पनि टोटेनह्यामले त्यसलाई जोगाउन सकेन । खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भए । खेलको ५८औं मिनटमा कोरियन स्टान सोन ह्युङ–मिनले विपक्षीको बक्सको मध्य भागबाट गरेको गोलसँगै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो ।

तर त्यो गोल गरेको ठिक २० मिनटमा टोटेनह्यामले बराबरी गोल खान पुगेको थियो । ७८औं मिनटमा शेफिल्डका लागि जर्ज बाल्डकले पाहुना टोलीका लागि बक्स नजिकैबाट बाँया कुना च्याप्दै बराबरी गोल फर्काए । उक्त गोललाई भिडियो एसिस्टेन्ट रेफ्री (भार) को निरीक्षण पश्चात् मुख्य रेफ्रीले मान्यता दिएका थिए ।

यो नतिजापछि गत सेप्टेम्बरदेखि जितविहीन रहेको टोटेनह्याम १२ खेलबाट १४ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ । उता पछिल्ला पाँच खेलसम्म अपराजित रहेको शेफिल्ड भने १७ अंकका साथ अप्रत्याशित रुपमा पाँचौं स्थानमा छ ।

शनिबार नै भएका अन्य खेलहरुमा इभर्टनले साउथह्याम्पटनलाई तथा न्युसल युनाइटेडले बर्नमाउथलाई समान २–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण जित हात पारेको छ । त्यस्तै अर्को खेलमा बर्नलीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले निराश तुल्यायो ।


प्रतिक्रिया दिनुहोस

Loading...