लगातार छैठौं जितका साथ दोस्रो स्थानमा उक्लियो चेल्सी (भिडियोसहित)

एजेन्सी । सन् २०१६–१७ को सिजन पछि पहिलोपटक लण्डन क्लब चेल्सीले प्रिमियर लिगमा लगातार छैठौं जित हात पारेको छ । स्मरण रहोस, त्यतिबेला चेल्सीले लिग उपाधि समेत जितेको थियो ।

शनिबार घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीले अर्को लण्डन क्लब क्रिस्टल प्यालेसलाई २–० ले हरायो । चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो गोल ५२औं मिनटमा टेमी अब्राहमले गरे । यी युवा स्ट्राइकरको यस सिजन यो दशौं गोल समेत थियो । त्यस्तै दोस्रो गोल अमेरिकी स्टार क्रिष्टियन पुलिसिकले ७९औं मिनटमा गर्दै घरेलु टोलीको जित पक्का गरे ।

यो जितपछि १२ खेलबाट २६ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल ३१ अंकका साथ शिर्ष स्थानमा छ भने २५ अंक जोडेको साविक विजेता म्यानचेष्टर सिटी पनि एक खेल कम खेल्नुका बावजुद तेस्रो स्थानमा छ ।

स्मरणीय छ, लिभरपुल र सिटी सिजनको बहुप्रतिक्षित भिडन्तका रुपमा आइतबार आमने सामने हुँदैछन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने यो खेलको नतिजाले लिगतालिकाको स्वरुपमा पनि धेरै प्रभाव पार्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...