सोनको डरलाग्दो ट्याकलले टोटेनह्यामको नतिजा ओभेलमा

एजेन्सी । दक्षिण कोरियाली स्टार सोन ह्युङ मिनले दोस्रो हाफमा गरेको डरलाग्दो ट्याकलका कारण प्रिमियर लिगमा आइतबार टोटेनह्याम हट्सपर र इभर्टनबीचको १–१ गोलको रोमाञ्चक बराबरीको नतिजा ओभेलमा परेको छ ।

इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा दोस्रो हाफको खेलतर्फ सोनले इभर्टनका पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेसलाई पछाडीबाट डरलाग्दो फल गरेपछि रेफ्री मार्टिन अटकिन्सनले ७९औं मिनटमा सोनलाई सोझै रातो कार्ड देखाएका थिए ।

त्यो ट्याकल कति डरलाग्दो थियो भने, त्यो घट्नापछि दर्शक लगायत स्वयम् सोन पनि स्तब्ध बन्न पुगेका थिए । खेलमा त्यतिबेला टोटेनह्याम १–० ले अगाडी पनि थियो । ६३औं मिनटमा डेले अलीले बक्स नजिकबाट गरेको सटिक प्रहारले पोष्टको जाली चुमेको थियो ।

यद्यपि पाहुना टोलीले त्यो अग्रता अन्तिमसम्म जोगाउन सकेन । उता खेलको इन्जुरी समयको ९८औं मिनटमा सेन्क टोसुनले हेडद्वारा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाउनुका साथै टोलीका लागि महत्वपूर्ण अंक पनि बटुलेका थिए ।

यो नतिजापछि ११ खेलबाट १३ अंक जोडेको टोटेनह्याम ११औं स्थानमा उक्लिएको छ । उता इभर्टन भने ११ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...