एनफिल्डमा लिभरपुलको उत्कृष्ट पूनरागमन (भिडियोसहित)

एजेन्सी । खेल शुरु भएको पहिलो मिनटमै गोल खान पुगेको लिभरपुलले इङलिस प्रिमियर लिगमा आइतबार राती उत्कृष्ट पूनरागमन गर्दै अंकतालिकामा ६ अंकको अग्रतालाई निरन्तरता दिएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनह्याम हट्सपुरलाई रोमाञ्चक रुपमा २–१ ले हराउँदै अंकतालिकामा फेरि ६ अंकको अग्रता बनाउन सफल भएको हो ।

खेल शुरु भएको पहिलो मिनटमै हेरी केनले गोल गर्दै टोटेनह्यामलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । त्यो अग्रता पहुना टोलीले पहिलो हाफसम्म जोगाउन पनि सफल भयो ।

यद्यपि खेलमा अधिकंश समय हावी देखिएको लिभरपुलका लागि दोस्रो हाफतर्फ ५२औं मिनटमा जोर्डन हेन्डरसनले बराबरी गोल फर्काए । त्यस्तै ७५औं मिनटमा मोहमद सलाहले पेनाल्टीबाट गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै १० खेलबाट २८ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । २२ अंक जोडेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । उता टोटेनह्याम भने १२ अंकका साथ ११औं स्थानमा झरेको छ ।

म्यानचेष्टर युनाइटेड सफल, आर्सनल रोकियो

शनिबार नै भएको अन्य खेलहरुमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई ३–१ ले हरायो भने आर्सनलले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा चित्त बुझायो । त्यस्तै अर्को खेलमा न्युक्यासल युनाइटेड र वोल्भरह्याम्पटनले पनि १–१ को बराबरी खेल्दै अंक बाँडे ।


प्रतिक्रिया दिनुहोस

Loading...