बार्सासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लियो एटलेटिको

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती जितको खडेरी तोड्दै एटलेटिको मेड्रिड लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पछिल्ला तीन खेलहरुमा लगातार बराबरी खेलेको एटलेटिकोका लागि शनिबारको जित यस महिनाको पहिलो जित समेत थियो ।

महत्वपूर्ण जित हात पार्ने क्रममा एटलेटिकोले एथलेटिक बिल्बाओलाई २–० ले हरायो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलको २८औं मिनटमा साउल निगेजले एटलेटिकोका ल ागि पहिलो गोल गरे ।

त्यस्तै दोस्रो गोल भने चेल्सीबाट लोनमा खेलिरहेका अल्वारो मोराटाले ६४औं मिनटमा गरे । मोराटोले एन्जल कोरेको क्रस पासमा बक्स नजिकैबाट दोस्रो गोल गरेका थिए ।

यो जितपछि १० खेलबाट १९ अंक जोडेको एटलेटिको दोस्रो स्थानमा उक्लिएको छ । र, शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंकबराबरी गरेको छ । यद्यपि डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले भने एक खेल कम खेलेको छ । पराजित बिल्बाओ भने १३ अंकका साथ दशौ. स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...