चेल्सीको जितमा पुलिसिकको डेब्यु गोलसँगै ह्याट्रिक

एजेन्सी । यसै सिजनदेखि चेल्सीमा फर्किएका अमेरिकी स्टार क्रिष्टियन पुलिसिकले क्लबका लाडि डेब्यु गोल गरेको खेलमा ह्याट्रिक समेत पूरा गरेका छन् । शनिबार राती सम्पन्न खेलमा चेल्सीले बर्नलीलाई ४–२ ले हरायो ।

स्मरण रहोस, पुलिसिकले पछिल्ला एक सिजन जर्मन क्लब बोरुसिया डर्टमुण्डमा लोनमा बिताएका थिए । त्यतिमात्र नभएर पुलिसिकको त्यो व्यवसायीक करियर कै पहिलो ह्याट्रिक समेत थियो ।

बर्नलीको घरेलु मैदानमा भएको खेलको २१, ४५ र ५६औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लगतै ५८औं मिनटमा ब्राजिलियन स्टार विलियनले थप एक गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए ।

उता पराजित बर्नलीका लागि ८६औं मिनटमा जे रोड्रिगेजले पहिलो गोल फर्काए भने लगतै ८९औं मिनटमा ड्वाईट म्याकनिलले दोस्रो सान्त्वना गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न सकेनन् ।

यो जितपछि १० खेलबाट २० अंक जोडेको चेल्सी चौथो स्थानमा छ र शिर्ष स्थानमा रहेको लिभुपुलभन्दा पाँच अंकले पछाडी छ । यद्यपि लिभरपुलले भने एक खेल कम खेलेको छ । त्यस्तै पराजित बर्नली भने १२ अंकका साथ ११औं स्थानमा झरेको छ ।

शनिबार नै भएका अन्य खेलहरुमा ब्राईटनले एभर्टनलाई रोमाञ्चक रुपमा ३–२ ले स्तब्ध पार्यो । त्यस्तै वाटफोर्डले बर्नमाउथसँग गोलरहित बराबरी खेल्यो भने वेस्ट ह्याम र शेफिल्ड युनाइटेडले पनि १–१ को बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...