गोल बर्षा गर्दै लेस्टरले गर्यो २४ बर्ष पुरानो किर्तिमानको बराबरी

एजेन्सी । इङलिस प्रिमियर लिगमा शुक्रबार राती भएको एक मात्र खेलमा लेस्टर सिटीले गोलको बर्षा गर्दै २४ बर्ष पूरानो प्रिमियर लिग किर्तिमानको बराबरी गरेको छ । किर्तिमानी जित हात पार्ने क्रममा लेस्टरले दश खेलाडीमा सिमित साउथह्याम्पटनलाई उसकै घरमा ९–० ले हरायो ।

यो जितसँगै लेस्टरले प्रिमियर लिगमा सर्वाधिक ठूलो जितको किर्तिमानको बराबरी समेत गर्यो । स्मरण रहोस, यसअघि सन् १९९५ मा म्यानचेष्टर युनाइटेडले इप्सवीच टाउनलाई समान ९–० गोल अन्तरले हराएको थियो । त्यतिमात्र नभएर टप फ्लाईटको इङलिस लिगमा १३१ बर्ष के कुनै टोलीले हात पारेको यो सबैभन्दा ठूलो अवे जित समेत बन्यो ।

साउथह्याम्पटनको घरेलु मैदान सेन्ट मेरीसमा खेल शुरु भएको १०औं मिनटमै बेन चिलवेलले लेस्टरका लागि पहिलो गोल गरे । त्यसको दुई मिनट लगतै रेयान बट्रेन्डले रातो कार्ड खाँदै मैदान छाडेपछि साउथह्याम्पटन शुरुवातबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

https://twitter.com/BBCSport/status/1187858876655263744

त्यसपछि लेस्टरले गोलको बाढी बगाउन शुरु गर्यो । १७औं मिनटमा युरी टिलेमन्सले लेस्टरका लागि दोस्रो गोल गरे । खेलमा पुर्ण हावी देखिएको लेस्टरका लागि आयोजे पेरेज (१९, ३९, ५७औं मिनट) र जेमी भार्डी (४५, ५८ र ९०+४औं मिनट) ले ह्याट्रिक पनि पूरा गरे । भार्डीले तेस्रो गोल पेनाल्टीबाट गरेका थिए ।

त्यस्तै थप एक गोल ८५औं मिनटमा जेम्स मेडिसनले गरेका थिए । यो जितपछि १० खेलबाट २० अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ । उता साउथह्याम्पटन भने ८ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...