एजाक्समाथि चेल्सीको रोमाञ्चक जित (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगमा बुधबार राती समूह एच तर्फ गत सिजनको सेमिफाइनलिस्ट एजाक्समाथि लण्डन क्लब चेल्सीले रोमाञ्चक र साँघुरो जित हात पारेको छ । एम्सटर्डममा भएको खेलमा चेल्सीले घरेलु टोलीमाथि १–० को कठिन जित निकाल्यो ।

चेल्सीको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मिची बात्सुएईले खेलको ८६औं मिनटमा एक मात्र निर्णायक गोल गरे । खेलअवधि भर प्रभावशाली प्रदर्शन गरेको युवा टिम चेल्सीले गोलका लागि भने अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । साथै सन् २०१३ पछि चेल्सीले पहिलोपटक च्याम्पियन्स लिगमा लगातार दुई अवे म्याच जित्न समेत सफल भएको छ ।

यो जितपछि ३ खेलबाट ६ अंक जोडेको चेल्सी र एजाक्स समूह एच को शिर्षतामा छन् । त्यस्तै सोही समूहमा रहेको भ्यालेन्सियाले बुधबार राती नै भएको अर्को खेलमा लिलेसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।

त्यो खेलपछि भ्यालेन्सियाको ४ अंक भएको छ र समूह एच को तेस्रो स्थानमा छ । उता पहिलोपटक अंक जोडेको लिले भने १ अंकका साथ पुछारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...