च्याम्पियन्स लिगमा बार्साको जितमा मेसीको किर्तिमान

एजेन्सी । बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणतर्फ महत्वपूर्ण अवे जित हात पारेको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि एक विशेष किर्तिमान आफ्नो नाममा गराएका छन् ।

बुधबार राती स्लाभिया प्रागलाई उसकै घरमा बार्सिलोनाले २–१ ले हराउँदा मेसीले पनि गोल गरेका थिए । साथै त्यो गोलसँगै च्याम्पियन्स लिगको लगातार १५ सिजन गोल गर्ने उनी पहिलो खेलाडी समेत बने ।

यद्यपि त्यो खेलमा बार्सिलोनालाई जितका लागि आत्मघाती गोलको सहारा लिनुपरेको थियो । खेलको तेस्रो मिनटमै मेसीको गोलबाट अग्रता बनाएको बार्सिलोनाले त्यसलाई पहिलो हाफसम्म जोगाई राख्न सफल भयो ।

उता दोस्रो हाफको ५०औं मिनटमा जान बोरिलले प्रागका लागि बराबरी गोल फर्काएका थिए। । तर घरेलु टोलीले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । खेलको ५७औं मिनटमा लुइस सुआरेजको क्रस बललाई क्लियर गर्ने क्रममा प्रागका पिटर ओलेन्काले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।

यो जितपछि ३ खेलबाट ७ अंक जोडेको बार्सा समूह एफ को शिर्ष स्थानमा छ । त्यस्तै बुधबार राती नै बोरुसिया डर्टमुण्डलाई २–० ले हराएको इन्टर मिलान ४ अंकका साथ दोस्रो स्थानमा छ । समान ४ अंक भए तापनि गोल भिन्नताका आधारमा डर्टमुण्ड तेस्रो स्थानमा छ भने १ अंक जोडेको प्राग पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...