लालानाको गोलले ओल्ड ट्राफोर्डमा लिभरपुल जोगियो

एजेन्सी । खेलको अन्तिमतिर एडम लालानाले गोल फर्काएपछि प्रिमियर लिगमा आइतबार लिगलिडर लिभरपुलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदै लिगतालिकामा आफ्नो शिर्षतालाई पनि कायम राखेको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलले हार नजिक पुगेर पनि घरेलु टोली म्यानचेष्टर युनाइटेडसँग १–१ को बराबरी खेल्दै महत्वपूर्ण अंक खोस्न सफल भयो । खेलको ३६औं मिनटमा मार्कस रेशफोर्डको गोलबाट शुरुवाती अग्रता बनाएको म्यानचेष्टरले त्यसलाई अन्तिम समय कायम राख्न सकेन ।

उता सिजनको पहिलो हारको संघारमा पुगेको लिभरपुलका लागि एन्डी रोबर्टसनले बाँया कुनाबाट गरेको क्रस पासलाई सदुपयोग गर्दै ८५औं मिनटमा लालानाले लिभरपुलका लागि रोमाञ्चक बराबरी गोल गरेका थिए । त्यसअघि लिभरपुलका लागि साडियो मानेको गोललाई भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले अमान्य घोषित गरिदिएको थियो ।

यो नतिजासँगै ९ खेलबाट २५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । उता म्यानचेष्टर भने १० अंकका साथ १३औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली भन्दा २ अंकले मात्र माथि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...