रोनाल्डो र बेल बिना नै रियल मड्रिडको जित, बेन्जिमाको दुई गोल

फागुन २२ – स्पेनिस ला लिगामा रियल मड्रिडले शानदार जित दर्ता गरेको छ । गएको बुधबार भएको खेलमा बराबरीमा रोकिएको थियो ।  रियल मड्रिडले एइबरलाई ४–१ ले हरायो ।

रियल मड्रिड क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना नै खेलेको थियो । रोनाल्डो चोटका कारण तथा बेल प्रतिबन्धका कारण मैदान बाहिर थिए । रियललाई जिताउन करिम बेन्जिमाले दुई तथा जेम्स रोड्रिग्वेज र मार्को एसेनसियोले एक एक गोल गरे । एइबरका लागि रुबेन पेनाले एक गोल फर्काए । बेन्जिमाले १४ र २५ औं मिनेटमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । उनले लिगमा अघिल्ला सात खेलमा गोल गर्न सकेका थिएनन् । २९ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेपछि पहिलो हाफमा रियलले ३–० को अग्रता लियो । ६० औं मिनेटमा एसेनसियोले गोल गरेपछि अग्रता ४–० मा पुग्यो । ७२ औं मिनेटमा पेनाले एइबरका लागि एक गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५९ अंक भएको छ । राति नै भएको खेलमा सेल्टा डि भिगोलाई ५–० ले हराएको शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ । राति भएका अरु खेलमा भिल्लारियलले स्पानियोललाई २–० तथा लेगानेसले ग्रनाडालाई १–० ले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...